कास
म मेरा आमाहरूको
मनभित्र पस्न सक्थें,
ति मौन सागर
एक एक गरेर छुन सक्थें।

किन
उज्यालो दिनमै पनि
उनीहरूको आँखामा
साँझ झर्दै थियो?
किन
सुखको बीचमै पनि
आँसुहरू चुपचाप बगिरहन्थे
कसैले नदेख्ने गरी,
कसैले नसुन्ने गरी।

ती साना–साना क्षणहरूमा
किन उनीहरू भक्कानिन्थे
धेरै वर्षदेखि थामिराखेको
बादल अपर्झट फुटेझैँ।

हरेक को आफ्नै कथा
आफ्नै पिडा
कसैको मुस्कानभित्र लुकेको आँसु,
कसैको चुप्पीभित्र थुनिएको आँधी,
कसैको मायाभित्र
आफैंलाई बिर्सिएको जीवन।

कति पीडा
अझै उनीहरूको मुटुभित्र
शब्द नपाएका कथाजस्तै अड्किएका छन्,
जुन समयले पनि
सम्हाल्न सकेन।

कास
म ती सबै पीडाहरू
आफ्नो अँगालोमा राख्न सक्थें,
सातै चोटहरूलाई
आफ्नै मुटुले बोक्न सक्थें।

अर्को जन्ममा
मेरा आमाहरु
मेरो छोरीहरू भएर जन्मिऊन्,
आकाशमा इन्द्रेणी रंगिएझैँ सजाएर राख्नपाऊ।

Comments

Popular Posts