तिम्रो आलिङ्गन

सम्झना मा,
त्यो सम्झनामा, त्यो सपनामा,
तिमी मलाई चन्द्रमा र ताराहरूसँग दाँज्दै थियौ।

कहिले जून हौ तिमी,
कहिले सूर्यमुखी,
त कहिले चम्किला ताराहरू जस्तै छौ तिमी।

सपनामा पनि म सपना देखाइरहेकी थिएँ,
तिमीलाई खोज्दै थिएँ।
झसङ्ग हुन्थेँ,
छिनछिनमै ब्युँझिन्थेँ, झस्किन्थेँ।

अत्यासिलो खुसीले आँखाहरू भिज्दै थिए,
त्यहाँ पनि डरका कहरहरू गुञ्जिँदै थिए।
र तिम्रो आलिङ्गनको प्रतीक्षा भने
हराएको थिएन।

होसमा, बेहोसमा,
नीला नस नसमा स्नेह खोज्ने यो मन
त्यो सपनाबाट नबिउँझियोस् कहिल्यै जस्तो गर्थ्यो।

आँखाहरू नखुलून्,
मलाई मेरो संसार बेग्लै छ भन्ने
भान नहोस् जस्तो हुन्थ्यो।

जबर्जस्ती म मेरो सपनाका
अघिल्ला भागहरू हेर्न खोज्थेँ,
जहाँ सपनाको अन्त्य म
गर्न चाहन्थेँ
त्यो अन्त्य,
जसमा केही खोट नहोस्,
र कसैको भोट

ठूला–ठूला सपनाहरूको बीचमा हराएको म,
त्यो संसारबाट टाढा,
यो काल्पनिक संसारमा
सपनाहरूबाट सपना पूरा गर्न खोज्दै थिएँ।

र मलाई झक्झकाउने पनि त कोही थिएन,
मलाई मेरो सपनाबाट ब्युँझाउने।

यिनै साना सपनाका भागहरू पूरा गर्न
यति टाढा आइपुगेकी म,
जहाँ मेरा निद्राहरूबीच
म तिमीलाई खोज्दै थिए
मेरो अनिद्राको औषधि
तिम्रो आलिङ्गन ।

Comments

Popular Posts